१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा रसुवागढीको अवलोकन

२२ असाेज, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड – १९ का कारण चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको बताउनुभएको छ । मन्त्री ज्ञवालीले रसुवागढी क्षेत्रको अवलोकन गर्ने क्रममा आज स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई टिमुरेमा सम्बोधन गर्दै सीमा क्षेत्रमा आइपर्ने तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि आफूले स्थलगत रूपमा सीमा क्षेत्रको भ्रमण गरेको बताउनुभयो ।

उहाँले रसुवागढी नाका व्यवस्थापनअन्तर्गत टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने छिटोछरितो कार्य सम्पादन गरी राष्ट्रसेवकको भूमिका निर्वाह गर्न आफ्ना मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो । परराष्ट्रमन्त्रीका साथ तत्कालीन संविधानसभासदस्यद्वय जनार्दन ढकाल र छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी अधिकारी हरिप्रसाद पन्त, सुरक्षा अधिकारीलगायतको पनि सहभागिता थियो ।

प्रकाशित मिति : October 8, 2020 at 8:38 pm