९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

हामीहरू समाजवादतिर अघि बढ्न कृतसंकल्पित छौँः पूर्वप्रधानमन्त्री खनाल

३ असोज, काठमाडाैँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न उहाँले सबैलाई आग्रह गर्नुभएको हो ।

संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । “सात दशक लामो जनताको अथक संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप हामीले सामन्तवादको प्रतीकको रुपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै यस संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यस संविधानमार्फत नागरिक स्वतन्त्रता, मानवअधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभूत अधिकार सुनिश्चित गरेका छौँ ।”

संविधानकै अनुसार समावेशी ढंगको निर्वाचन प्रणालीमार्फत केन्द्रीय, प्रदेश र स्थानीय तहहरुको निर्वाचन गरी सरकार गठन गरेर देशमा राजनीतिक स्थिरता कायम भएको उहाँले उल्लेख गर्नुभएको छ । “मुलुक विकास निर्माण, अग्रगति, प्रगति र समृद्धिको दिशातर्फ अघि बढेको छ र हामीहरु समाजवादतिर अघि बढ्न कृतसंकल्पित छौँ”, पूर्वप्रधानमन्त्री खनालले सन्देशमा भन्नुभएको छ, “यी सबै संविधान निर्माणपश्चात् हामीले गरेका असाधारण उपलब्धिहरु हुन् ।”

प्रकाशित मिति : September 19, 2020 at 10:58 am