१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

बिरामीको जीवन रक्षा गर्न भेन्टिलेटरको अधिकतम उपयोग हुन्छः मन्त्री ढकाल

१ असोज,स काठमाडाैँ । प्रतिष्ठित अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०)ले सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ । विश्वव्यापी महामारी कोभिड–१९ को समस्यासँग सामना गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्य अनुरुप हेकाफ ३६० ले २० वटा जीवन रक्षक बाईप्याक भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । हेकाफले अत्यावश्यक भेन्टिलेटर सहित पिपिई, पञ्जा, गाउन, मास्क, थर्मोमिटर लगायत गरी करिब ९५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विपदको अवस्थामा सहयोग गरेको भन्दै खुःशि व्यक्त गर्नुभयो । मन्त्री ढकालले फाउण्डेसनले उपलब्ध गराएको सामग्रीको अधिकतम उपयोग गरी विरामीको जीवन रक्षा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोभिड १९ विरुद्ध समय परिवर्तन हुँदै जाँदा फरक फरक तरिकाले लडनुपरेको बताउनुभयो । कुनै समय पिपिई लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपरेकोमा पछिल्लो समय अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नुपरिरहेको मन्त्री ढकालले बताउनुभयो ।

यस अघि पनि हेकाफ ३६०ले जेठ २१ ग्ते सरकारलाई ३० वटा बाईप्याप भेन्टिलेटर सहित एक करोड २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको थियो । हेकाफ ३६० का अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले अहिलेको अत्यन्तै भयावह परिस्थितिमा चुजी फाउन्डेसनद्धारा नेपाललाई सहयोग प्राप्त भएकोमा अभार व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त २० थान भेन्टिलेटर मध्ये प्यूठान अस्पतालमा पाँच थान, लुम्बिनी प्रादेशिक अस्पतालमा दुइ थान, त्रिवि शिक्षण अस्पताल पाँच थान, दमक अस्पतालमा तीन थान, आम्दा अस्पतालमा दुइ थान, इलाम जिल्ला अस्पतालमा दुइ थान र तेह्रथुम जिल्ला अस्पतालमा एक थान हस्तान्तरण गरिएको छ । स्वास्थ्यमन्त्री ढकालले मन्त्रालयमै उपलब्ध सम्बन्धित संस्थाका प्रतिनिधिलाइ भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

प्रकाशित मिति : 20:52