सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामकः डा कोइराला
१९ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गर्नुभएको छ । बिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्नसमेत आग्रह गर्नुभएको हो ।
कार्यक्रममा उहाँले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसगैँ विचार र सिद्धान्तमासमेत घनिभूत छलफल हुनुपर्ने बताउनुभएको थियो ।

महामन्त्री डा कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताउनुभएको थियो ।
प्रकाशित मिति : 13:11









