१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपा कार्यदलको प्रतिवेदन ठोस कार्ययोजनासहित सचिवालय र स्थायी कमिटीमा लगिने

१८ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले तयार पारेको प्रतिवेदन ठोस कार्ययोजनासहित पार्टीको सचिवालय र स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले कार्यदलको प्रतिवेदन ठोस कार्ययोजनासहित सचिवालय र स्थायी कमिटीमा लैजाने निर्णय गरेको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिश हुने बैठकलाई जानकारी गराउनुभएको पनि बताउनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न मिल्ने कोटामा गौतमको नाम सिफारिस भएको हो ।

यसअघि केही महिनाअघिको नेकपाको सचिवालय बैठकले गौतमलाइ राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नेछ । गौतमले पछिल्लो समय केही नेताको पार्टी फुटाउने प्रयास असफल पार्दै पार्टीलाइ सहमतिको मार्गमा ल्याउन सहयोग गर्नुभएको थियो ।

प्रकाशित मिति : 18:25