९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

तीजले प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस्ः राष्ट्रपति भण्डारी

५ भदाै, काठमाडाैँ । राष्ट्र्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)ले सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ । शुक्बार तीजनको शभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्न यस्ता पर्वहरूले उत्प्रेरणा दिनुपर्ने बताउनुभएको छ ।

यस्तो छ राष्ट्रपति भण्डारीको सन्देश
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् ।

भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान् शिव-पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य¸ परिवारको सुख¸ सुस्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्‍वास रहिआएको छ। यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भाव कायम गर्न सहयोग पुर्‍याइरहेका हुन्छन् भन्ने मेरो विश्‍वास रहेको छ । हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ।

अन्तमा, हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । साथै¸ विश्वव्यापी रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड-१९)को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।
धन्यवाद ।

प्रकाशित मिति : August 21, 2020 at 9:46 am