कोरोनाका कारण नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौतीः प्रधानमन्त्री ओली
२५ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गर्नुभएको छ । संसारभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ ।
प्रधानमन्त्रीले २६औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिमा हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै सुरक्षितसाथ दिवस मनाउन आह्वान गर्नुभएको हो । सन्देशमा प्रधानमन्त्रीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राखी यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता हामीसामु छ भन्नुुभएको छ ।

प्रधानमन्त्रीले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि हाम्रो मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हामीले तय गरेका छौँ भन्नुुभयो ।
प्रधानमन्त्रीको सन्देशमा ‘यस्तो बेला विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाल लगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको छ, विश्वसामु खडा भएको यस चुनौतीको सामना गर्दै हामी राष्ट्रको आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर छौँ’ उल्लेख छ ।
प्रकाशित मिति : 08:38









