नेपाल र चीन मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा
१७ साउन, काठमाडाैँ । नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार गरेसँगै नेपाल–चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ ।
दुई देश बीचको लामो सम्बन्ध पाँचौँ शताब्दीदेखि विकसित हुँदै अगाडि बढेको हो । दुई देश बीचको सम्बन्ध मित्रता, समझदारी, आपसी समर्थनसँगै शान्ति सह–अस्तित्वका सिद्धान्तको आदर्शमा अटल विश्वास राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जस अनुसार नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ ।

चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले नेपाल–चीन सम्बन्ध मात्र ६५ वर्षको होइन कूटनीतिक सम्बन्धको हिसाबले करिब १४ सय वर्षअघि देखिको हाम्रो सम्बन्ध हो भन्नुभयो । चिनियाँ भिक्षु फा सियानकोे यात्राले जनस्तरको सम्बन्ध त्यतिबेलै थियो भन्ने पुष्टि गर्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनी भ्रमण गरेको क्षण अझै अभूतपूर्व मानिन्छ ।
१३औँ शताब्दीमा नेपालका कलाकार अरनिको सहितको टोलीले चीनमा नेपालको कला संस्कृतिको प्रचार गरे । नेपाल तथा चीनबीच ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास रहेको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई बताउनुहुुन्छ । नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर सिमाना जोडिएको छ । व्यापारिक सम्बन्धतर्फ सन् १८५६ को थापाथली सन्धिअघि ल्हासामा नेपालका वकिल बस्थे ।
अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा राष्ट्रपति सी चिनफिङको समन्यायिक आर्थिक विकासको महìव बढेको छ । नेपाल र चीनका राष्ट्रपति, प्रधानमन्त्रीको उच्च स्तरीय भ्रमणपछि सम्बन्धको पुनर्ताजगीसँगै हिमालयन सीमापार, बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) लगायतका परियोजना अन्तर्गत व्यापार बन्दरगाह, बहुपक्षीय सम्पर्क सञ्जालमा सहकार्य अगाडि बढेको छ । चीन नेपालको दोस्रो ठूलो साझेदार हो । त्यसैले प्राथमिकता तोकेर आर्थिक तथा सामाजिक विकासमा सहकार्य गर्नुपर्नेमा पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई जोड दिनुहुन्छ ।
यो समाचार अाजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेख्नुभएको छ ।
प्रकाशित मिति : 06:10









