३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

पार्टीले गरेको निर्णय फिर्ता नभए सामूहिक राजिनामा दिने काँग्रेस नेता तथा कार्यकर्ताकाे चेतावनी

१२ साउन, दमौली । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी निकट तनहुँका नेता तथा कार्यकर्ताले पार्टीले गरेको निर्णय फिर्ता नभए सामूहिक राजिनामा दिने चेतावनी दिएका छन् । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले जोशीलाई कारवाही गरेपछि तनहुँमा आज पत्रकार सम्मेलनको आयोजना गरी जोशी निकट नेता तथा कार्यकर्ताले जोशीमाथिको कारवाही पूर्वाग्रही र अधिनायकवादी रहेको बताएका छन् ।

बिपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशीलाई गरिएको कारवाहीले भविष्यमा काँग्रेसलाई ठूलो क्षति पु¥याउने बताउनुभयो । “तनहुँको काँग्रेस सङ्गठन बनाएको व्यक्तिलाई पार्टीबाटै निकाल्नु पार्टीकै केही नेताको स्वार्थ र पूर्वाग्रही भावना हो”, गिरीले भन्नुभयो, “पार्टी सङ्गठन ध्वस्त हुन्छ, यसको जिम्मा स्वयं पौडेलले लिनुपर्छ ।”

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलको उजुरीका आधारमा जोशीको उम्मेदवारी खारेज भएको अवस्थामा तीन वर्षपछि आएर कारवाही गरिनु पूर्वाग्रही भावना रहेको उहाँको आरोप छ । “गल्ती गरेको भए त्यही बेला कारवाही हुनुपर्दथ्र्यो, उहाँ त चुनावमा उम्मेदवार नै बन्न पाउनुभएन”, गिरीले भन्नुभयो, “महाधिवेशनको मुखमा आएर महाधिवेशनमा भाग लिनबाट वञ्चित गराउने खेल खेलियो ।”

बिपी विचार समाजका नेतृ चिनु पोखरेलले जोशीमाथिको गरिएको कारवाहीको घोर निन्दा गर्दै तत्काल उक्त निर्णय पार्टीले सच्याउनुपर्ने बताउनुभयो । जोशीमाथिको कारवाही फिर्ता नभएका जोशी निकट सबै कार्यकर्ताले सामूहिक राजिनामा दिने पोखरेलले चेतावनी दिनुभयो । “काँग्रेसले अहिले सबै वडामा क्रियाशील सदस्यता नवीकरणका लागि पठाएको छ, जोशीमाथिको कारवाही फिर्ता नभए हामी क्रियाशील सदस्यता नवीकरण गर्दैनौँ, सामूहिक राजिनामा दिन्छौँ,” उहाँले भन्नुभयो । बिपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले काँग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताउनुभयो ।

प्रकाशित मिति : July 27, 2020 at 6:29 pm