१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मन्त्रिपरिषद बैठकका यस्ता छन् निर्णय

६ साउन, काठमाडाैँ । सरकारले आज मध्यरातिबाट लक डाउन खुला गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो । सरकारले आज रातिबाट लक डाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उहाँले बताउनुभयो ।

यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उहाँले बताउनुभयो । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उहाँले बताउनुभयो ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उहाँले बताउनुभएको छ । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर कुलिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : July 21, 2020 at 7:29 pm