१० असार २०८३, बुधबार | Wed Jun 24 2026

काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुन्छः महामन्त्री कोइराला

६ साउन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताउनुभएको छ । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बिपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको स्पष्ट पार्नुभयो । “कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन, हामी भनेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुन्छ भन्दै उहाँले अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले वा इतर पक्ष एक ठाउँ हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री कोइरालाले काँग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको बताउँदै महाविधेशनको मिति तय भइसकेपछि त्यसलाई प्रभावित पार्न सभापतिले विभाग गठन गरिरहेको आरोप लगाउनुभयो । महाधिवेशन हुनका लागि मात्र आठ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन् भनी प्रश्न गर्दै उहाँले आफूले सभापतिलाई सधैँ सहयोग गरेको तर उहाँले ‘पार्टीमा एकलौटी गर्न नछाडेकाले’ आफू पनि सभापतिविरुद्ध लाग्न बाध्य भएको स्पष्ट पार्नुभयो ।

महामन्त्री कोइरालाले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग प्रतिस्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेकामा जोड दिँदै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले काँग्रेस र मुलुक अब बिपी कोइरालाले देखाएको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनको बाटामा हिँड्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर धर्ती, बद्री पाण्डे, गगनकुमार थापालगायतले बिपीको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : July 21, 2020 at 2:21 pm