अयोध्याबारे प्रधानमन्त्रीको टिप्पणी राजनीतिक र कसैको भावनामा ठेस पुर्याउन होइनः परराष्ट्र
३० असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेकाे टिप्पणीका विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।मन्त्रालयले मंगलबार बेलुका एक विज्ञप्ती जारी गर्दै भानुजयन्तीको अवसरमा प्रधानमन्त्रीले बोलेका उक्त कुरा कुनै राजनैतिक विषयसँग सम्बन्धित नरहेको बताएको छ । मन्त्रालयले प्रधानमन्त्रीकाे भनाईले कसैको भावनामा चोट पुर्याउने उद्देश्य नरहेको पनि जनाएको छ ।
मन्त्रालयले प्रधानमन्त्री ओलीकाे धारणा सामान्य रुपमा श्री रामसँग सम्बन्धित थप तथ्यहरु अध्ययन तथा विशाल सांस्कृतिक अनुसन्धानको महत्वबारे प्रकाश पार्ने क्रममा बाेलिएकाे बताएको छ । ती टिप्पणीहरुमा अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अपमान गर्ने उदेश्य नरहेको पनि स्पष्ट पारेको छ ।

हरेक वर्ष जनकपुरधाममा हुने जनकपुर र अयोध्यावीचको विवाह पञ्चमीको महत्वबारे समेत विज्ञप्तिमा उल्लेख गर्दै सो तथ्यहरुले दुई राष्ट्र र नागरिक बिचको सांस्कृतिक सम्बन्धलाई संकेत गर्ने पनि मन्त्रालयले जनाएकाे छ ।
सन् २०१८ मेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेको रामायण सर्किट र जनकपुर–अयोध्या बस सेवा महत्वपुर्ण रहेको समेत विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : 19:50









