१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

वैवाहिक अंगीकृतलाई ७ वर्षपछि नागरिकता दिने प्रस्ताव राज्य व्यवस्था समितिबाट बहुमतले पारित

७ असार, काठमाडौँ । वैवाहिक अंगीकृतलाई ७ वर्षपछि नागरिकता दिने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएकाे छ। सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले उक्त प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयकसमेत बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो।

शनिबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो। प्रतिपक्षी कांग्रेस र जसपाका सांसदहरूले भने नागरिकतासम्बन्धी ऐन २०६३ को प्रावधान अहिले पनि कायम हुनु पर्ने बताएका छन्।

उक्त ऐनमा विवाह गरेर आएकी महिलाले नेपाली नागरिकता लिन चाहे पहिलाको नागरिकता त्याग्ने प्रक्रिया चालेसँगै नेपाली नागरिकता पाउने उल्लेख छ। वैवाहिक अंगीकृतका लागि ७ वर्ष कुर्नुपर्ने प्रावधानले मधेसमा ठूलो समस्या ल्याउने र भारतसँगको रोटीबेटीको सम्बन्धमा असर पर्ने कांग्रेस र जसपा सांसदहरूको भनाइ छ।

प्रकाशित मिति : 18:26