१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिनुपर्छः सांसद बडू

७ असार, काठमाडाैँ । विपक्षि दलका सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरित भएको बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा विदेशी महिलालाई सात वर्ष पछि मात्रै अंगीकृत नागरिकता दिने विषय व्यवहारीक नभएको र संविधानको मर्म विपरित हुने बताएका छन् ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई संविधानमा व्यवस्था गरिए अनुसार नै महिलाले चाहेको खण्डमा तत्कालै नागरिकता दिनुपर्ने बताउनुभयो । उहाँले २०६३ साल देखि नै वैवाहिक अंगीकृत नागरिकता दिने सम्बन्धमा सबै पार्टीहरु एक भएर संविधान आएको तर अहिले कसरी ७ वर्ष पछि मात्रै दिने विषय आयो बुझ्न नसकेको बताउनुभयो ।

उहाँले अहिलेको संविधानले अंगीकृत नागरिकलाई चुनावमा सहभागि हुन दिने तर महत्वपूर्ण संवैधानिक अंगहरु र नेतृत्वदायि भूमिकामा सहभागिता हुन नदिने व्यवस्था गरेकाले त्यो भन्दा फरक तरिकाले ऐन ल्याउन नहुने स्पस्ट पार्नुभयो । उहाँले संविधानले लगाएको बन्देज बाहेक पनि थप बन्देज लगाएर ऐन आउन नहुने तर केही बन्देज थप गर्नुपर्ने भए संविधान संशोधनको विषय बन्ने बताउनुभयो ।

उहाँले संविधानको विपरित आएका बन्देजहरुले नागरिको भावनालाई सम्बोधन गर्न नसक्ने समेत बताउनुभयो । उहाँले यो विषय राष्ट्रियतासँग समेत जोडिएर आएको विषय भएकाले सबै पार्टीहरुबिच सहमति भएर आउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहमतिका लागि सरकारले ५ दिनको समय मागेको तर चौथो दिन मै निर्णय गरेर अगाडि बढ्ने विषय ठिक ढंगले नभएको बताउनुभयो ।

प्रकाशित मिति : 17:34