१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एसइईकाे परीक्षा नगर्ने सरकारको निर्णण, आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण

२८ जेठ, काठमाडाैँ । सरकारले एसइईको परीक्षा नगर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसइईको परीक्षा नगर्ने निर्णण गरेको हो । बैठकले आन्तरिक मूल्याङ्कनको आधारमा विद्यार्थीको ग्रेड निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

कोरोना भाइरसको प्रकोप दिनदिनै बढ्दै जाँदा सरकारले शिक्षाका सम्बन्धमा यस्तो महत्वपूर्ण निर्यण लिएको हो । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

कोरोना महामारीका कारण गत वर्षको एसइई परीक्षा पूर्वनिर्धारित केन्द्रहरुमा सञ्चालन गर्न सम्भव नहुने भएकाले सम्बन्धित विद्यालयले लिएको वार्षिक परीक्षाका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ग्रेड निर्धारण गरी लब्धाङ्कपत्र दिनेछ । गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगित छन् ।

मन्त्रीपरिषद्काे निर्णयबारे शिक्षा मन्त्रीले दिएकाे प्रतिक्रिया तल हेर्नुहाेस

आज बसेको मन्त्री परिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरि निर्णय गरेको छ। यस सम्बन्धि थप विवरण सम्बन्धित निकायहरुले उचित समयमा उपलब्ध गराउने छन।

संघीयताको मर्म अनुरूप नयाँ शिक्षा विधेयक तर्जुमाका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक स्वीकृति प्राप्त भई विधेयकको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय सहमतिका लागि पठाइएको अवस्थामा सो विधेयक संघीय संसदबाट पारित भई लागू हुँदा माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुनेछ ।
शैक्षिक सत्र २०७६ को परीक्षा साविक बमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि रोग संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सम्वत् २०७६ साल चैत्र ५ गतेको निर्णयानुसार स्थागित रहेको थियो।यस सन्दर्भमा ,लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्‍न उचित नभएकोले आवश्यक निर्णय गरिएको छ ।

कोभिड-१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सेन्टर सञ्चालन गरिएको र यस रोगको संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर आजको क्याविनेटले निर्णय गरेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार २२:५७