१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पार्टी एकताले सुशासन र समृद्धिको आधार तयः प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताएका छन् ।

विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन आगामी पाँच वर्षभित्र त्यसको बलियो आधार तयार गरिने उल्लेख गरेका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम त्यही दिशातर्फ उन्मुख भएको जनाएका छन् ।

साझा घोषणापत्रका साथ निर्वाचनमा भाग लिएर बहुमत हासिल गरेको र जनताको शान्ति, समृद्धि र स्थिरताको चाहना पूरा गर्न पार्टी एकताको महत्वपूर्ण कार्यभार पूरा गरेको ओलीले बताए । यो विश्वका अन्य मुलुकका लागि पनि सकारात्मक सन्देश भएको बताए ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विश्वका अन्य र छिमेकी मुलुकसँगको सम्बन्ध विकास गरी समृद्धिको यात्रा पूरा गरिने बताए । युवा संघ नेपालको संयोजन र महासंघका अध्यक्ष निकोलस पापाडिमिट्रयुको अध्यक्षतामा जारी सम्मेलनमा विश्वका विभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १४:५४