लकडाउनका बेला चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक
२६ जेठ, भीमदत्तनगर । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार बजार र आसपासका क्षेत्र चोरी गरिएका ४२ थान साइकलसहित अन्य सामान अभियुक्तबाट बरामद गरिएको छ ।

“लकडाउनका बेला चोरीमा संलग्न हुनेमध्ये अधिकांश युवा छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भन्नुभयो, “यसअघि चोरी मुद्दामा कैद भोगेकासमेत पुनः पक्राउ परेका छन् ।” उहाँले चोरीलगायत आपराधिक घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र खोजीकार्य जारी रहेको बताउनुभयो ।
“साइकललगायत सामान हराएका व्यक्तिलाई कागजातसहित प्रहरीको सम्पर्कमा आउन सूचितसमेत गरेका छौँ”, उहाँले भन्नुभयो, “अभियुक्तको अदालतबाट म्याद थप भएर अनुसन्धान अघि बढेको छ ।” चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : June 8, 2020 at 11:27 am





