२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

नेपाल बिराेधी होइन भनेर कसैले काखमा राखेर दूध खुवाउँदैनः राजदूत पाण्डे

२५ जेठ, काठमाडाैँ । चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल बिराेधी होइन भनेर कसैले काखमा राखेर दूध नखुवाउने बताउनुभएकाे छ । राजदूत पाण्डेले छिमेकी मुलुकसँगका सबै समस्या आपसमा बसेर संवादका साथ सार्वभौम र समानताका आधारमा समाधान गर्न सकिने बताउनुभएको छ ।

नुवाकोट सरोकार समाजले आज आफूलाई बधाई र शुभकामना दिन आयोजना गरेको कार्यक्रममा राजदूत पाण्डेले चीन र भारत दुवै छिमेकी तथा सबै मित्रराष्ट्रसँग सम्मानपूर्ण व्यवहार नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै नेपालले राष्ट्रहित, राष्ट्रको आवश्यकता र जनताको भावनालाई सम्बोधन गर्ने गरी कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पष्ट गर्नुभयो ।

“कूटनीतिमा तथ्यमा आधारित भएर सत्य खोज्ने र वैज्ञानिक ढङ्गबाट समाधान गरिन्छ । त्यसकारण हामीले छिमेकीहरुसँग मित्रवत्रुपमा संवादबाट सबै समस्याको समाधान गरी ती मुलुकको आर्थिक प्रगतिबाट लाभ लिने योजना बनाउनुपर्छ ”, गत वैशाख ५ गते राजदूतमा नियुक्त पूर्वपरराष्ट्रमन्त्री पाण्डेले भन्नुभयो, “नेपाल कुनै पनि मुलुकको विरोधी होइन तर यसो भन्दैमा हामीलाई कसैले काखमा राखेर दूध खुवाउँदैन । समृद्धिका लागि लाग्नुपर्छ । हामीलाई कसैले धक्का दिन खोजेमा हामी पछि हट्नु हुँदैन ।”

कार्यक्रममा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद नारायणप्रसाद खतिवडाले यसअघि नेपाल र चीनबीच भएका नेपालको हित हुने सम्झौताको कार्यान्वयनका लागि नवनियुक्त पाण्डेलाई भूमिका निर्वाह गर्न तथा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको समस्या समाधान गर्नका लागि पहल गर्न सुझाव दिनुभयो ।

नुवाकोट क्षेत्र १ बाट निर्वाचित सङ्घीय सांसद हितबहादुर तामाङले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेर दिइने संज्ञा हीनताबोधी भएको जनाउँदै हामी आफ्नो हितका लागि कसैसँग झुक्न नहुने बताउनुभयो । बाग्मती प्रदेशसभाका सदस्यद्वय बद्री मैनाली र कल्पना नेपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नुवाकोटका जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, सरोकार समाजका अध्यक्ष रामशरण प्याकूरेल, समाजका महासचिव अनुजकुमार श्रेष्ठ, सचिव विनोद न्यौपाने, सदस्य आरएम डङ्गोललगायतले राजदूत पाण्डेको कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।

प्रकाशित मिति : June 7, 2020 at 8:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/