संसदबाट एमसिसी अनुमोदन नभएसम्म त्यसअन्तर्गतका काम रोक्ने नेकपाको निर्णय
१७ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सदमा एमसिसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्णय गरेको छ। बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने बताए ।

उनले भने, ‘अनुमोदन नभएको अवस्थामा एनसीए अन्तर्गतका काम अनुमोदन भएपछि गर्न सकिने काम पछि नै गर्ने र अहिले रोक्ने समझादारी बनेको छ ।’ नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी बनेपछि सचिवालयले निष्कर्ष निकाल्ने उनले बताए । बजेटमा एमसीसी अन्तर्गतको परियोजना समेटिएको विषयमा अर्थमन्त्रीले सचिवालयमा स्पष्ट गरे ।
प्रधानमन्त्रीले संसदमा जानकारी गराए अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले सचिवालय बैठकमा एमसीसी पारित भए त्यही अनुसार काम हुने र नभए वैकल्पिक व्यवस्था गरेर अगाडी बढ्ने बताएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार अर्थमन्त्री खतिवडाले सोही अनुसार नै संसदमा जवाफ दिनेछन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाई समेत आमन्त्रण गरिएको थियो । रावल र ज्ञवाली नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य छन् ।
प्रकाशित मिति : 13:07









