१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

विश्व स्वास्थ्य संगठनको महासभामा पहिलो पटक नेपाली भाषामा सम्बाेधन (भिडियोसहित)

६ जेठ, काठमाडाैँ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले अङ्ग्रेजीमा आफ्नो मन्तव्य दिने गरेकामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठनको ७३औँ विश्व स्वास्थ्य महासभालाई नेपाली भाषामा नै सम्बोधन गर्नुभएको छ । याे विश्व स्वास्थ्य संगठनको महासभामा भएको नेपाली भाषाको पहिलो सम्बाेधन हो ।

यसपटक कोभिड–१९ को कारणले स्विट्रजरल्यान्डको जेनेभामा भएको महासभामा उहाँले गएराति नेपाली भाषामा सम्बोधन गर्नुभएको मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले जानकारी दिनुभयो । “मन्त्रीज्यूले आफ्नो भाषामा महासभालाई सम्बोधन गरे के हुन्छ भनेर हामीलाई सोध्नुभयो”, उहाँले भन्नुभयो, “हामीले पनि विभिन्न अन्तर्राष्ट्रिय अभ्यास हेर्दा हुन्छ भन्यौ ।”

यसअघिका महासभामा नेपालबाट सहभागी मन्त्रीले अङ्ग्रेजीमा नै सम्बोधन राख्ने गर्नुभएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा चीन, लगायतका देशले आफ्नो भाषा प्रयोग गर्ने गरेका छन । सम्बोधनका क्रममा उहाँले कोभिड–१९ विरुद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनु भएको थियो । सोमबारदेखि शुरु भएको महासभा आज राति सकिएको छ । कोभिड–१९ को कारणले महासभा यसपटक भर्चुअल भएको थियो ।

सम्बाेधनमा मन्त्री ढकालले कोरोना भाइरस (कोभिड–१९)का विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयाे ।उहाँले सर्वव्यापी स्वास्थ्य सुरक्षाका लागि सङ्गठनका सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कोभिड नियन्त्रणमा डब्लुएचओलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायको भूमिका सराहनीय रहेको भन्दै उहाँले विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टि भएको उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ महामारीका चुनौतीलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदायसमक्षसमेत अनुरोध गर्नुभयो ।

“स्वास्थ्य विकासको एक प्रमुख आधार हो । निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ”, उहाँले सम्बोधनमा भन्नुभयो, “यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ । त्यसैले हाम्रा समग्र प्रयासलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु ।” उहाँले कोभिड–१९को विश्वव्यापी महामारीका सन्दर्भमा हामी निकै कठिन घडीबाट गुज्रिरहेकाले धेरै जोखिम र अनिश्चितता रहेको बताउनुभयो ।

मन्त्री ढकालले कोभिड–१९ बाट हालसम्म नेपालमा दुईजनाको ज्यान गएको छ भने सङ्क्रमितको सङ्ख्या केही दिनयता बढ्दो क्रममा रहेको उल्लेख गर्दै नेपालका लागि आउँदा दिनहरू थप चुनौतीपूर्ण हुन सक्ने धारणा राख्नुभयो । नेपालले महामारीको शुरुआतदेखि नै उच्च राजनीतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्रमार्फत यस विपद्को प्रतिकार्य गर्दै आएको भन्दै उहाँले नेपालमा सङ्घीय प्रणाली संस्थागत हुँदै गइरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय भएको बताउनुभयो ।

मन्त्री ढकालले विश्वभरि महामारीविरूद्ध अग्रपङ्तिमा रही निरन्तर खटिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुभएको छ । “कोभिडलगायत यस्ता सङ्क्रामक रोगको कुनै सिमाना हुँदैन र यसले कुनै रङ्ग, समूह र वर्गबीच विभेद गर्दैन”, उहाँले भन्नुभयो, “त्यसैले सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो ।”

प्रकाशित मिति : 23:02