११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझिदै

७ जेठ, अछाम । बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन् ।भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो । जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ ।

सिँचाइ अभाव र जंगली जनावरका कारणले पनि बालीनाली लगाउन नसक्दा जमिन बाँझो रहेको छ । पछिल्लो समय बसाइसराइ नै प्रमुख कारण रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख विष्णुहरि देवकोटाले बताए ।

जमिन बाँझै रहेपछि जिल्लामा खाद्यान्न उत्पादनमा कमी आउन थालेको बताए । बसाइ सरेर जानेले जमिन अर्कालाई जिम्मा लगाए पनि खेत बाँझै रहने गरेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा प्रायः शहरी क्षेत्रमा बसाइसराइ गर्ने गरेको साँफेबगर नगरपालिका–३ का वडाध्यक्ष कृष्ण बुढाले बताए ।

विदेश गएर पैसा कमाउनेले शहर बजारमा घरघडेरी जोड्ने गरेका छन् । कतिपयले बालबच्चाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनका लागि पनि बसाइसराइ गर्दैआएका छन् । यसलाई कम गर्न गाउँघरमै गुणस्तरीय शिक्षा दिनु पर्ने चौरपाटी गाउँपालिकाका उपप्रमुख माया कुँवरले बताइन् ।

सिँचाइको अभाव, उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली, युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न नसक्नु र बसाइसराइजस्ता कारणले जिल्लामा खेतीयोग्य जमिन बाँझै रहेको हो । बसाइसराइका कारण गाउँ नै खाली हुन थालेका छन् । साँफेबगर नगरपालिका कृषि सेवा केन्द्रका नायब प्राविधिक सहायक सुरेन्द्र कँुवरका अनुसार किसान लगानी उठ्ने होकी हैन भन्ने डरले कृषि क्षेत्रमा लगानी गर्न डराउने गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १३:४५