१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

स्मार्ट टेलिकमद्धारा ग्राहकका लागि विशेष राहत प्याकेज घोषणा

१६ वैशाख, काठमाडाैँ । दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को बेला समस्यामा परेका ग्राहकका लागि विशेष राहत प्याकेज घोषणा गरेको छ  । बन्दाबन्दीका कारण फोनमा ब्यालेन्स नभएका (रिचार्ज गर्न नपाएका) प्रयोगकर्ताका लागि राहत प्याकेज विशेष सहयोगी हुने आशा स्मार्टले गरेको छ । सामाजिक उत्तरदायित्वका (सीएसआर) रुपमा स्मार्टले आफ्नो फोनमा शून्य व्यालेन्स भएका प्रयोगकर्ताका लागि ३० मिनेट अन नेट र ३०० एमबी डाटा (फोरजी) निःशुल्क उपलब्ध गराइरहेको छ । यो अफरको समय ३० दिन निर्धारण गरिएको छ ।

यसैगरी लकडाउनमा घरै बसेर काम गरिरहेका ग्राहकहरुका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि २९९ रुपैयाँंमा (३८१।७९ करसहित) ३० दिनका लागि ४५ जिबी डाटा उपलब्ध गराएको छ । त्यस्तै ७६।७५ रुपैयाँमा (९८ रुपैयाँ करसहित) एक साताका लागि ३ जिबी डाटा उपलब्ध गराएको र स्मार्टदेखि स्मार्टमा फोन गर्दा भने एक साताका लागि कुनै शुल्क नलाग्ने स्मार्टले जनाएको छ ।

स्मार्टले नेपालको ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ । सन् २०१३ मा स्मार्टले युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो । स्मार्टले सन् २००८ देखि नै नेपालको ग्रामीण भागमा आफ्नो सेवा सुरु गरिसकेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार १५:४४