२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

रक्सी पार्टी भाइरल भएपछि मन्त्री पुनले भने : ठूलो गल्ती भएछ, माफ पाऊँ पत्रकारहरू

२६ कात्तिक, काठमाडौं । नेपाल सरकारका नवप्रवर्तनमन्त्री महावीर पुनको साथीहरूसँग बसेर भोज तथा मदिरा सेवन गरिरहेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसबारे स्पष्टीकरण दिएका छन्।

पुनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै उक्त भोज आफ्नो डेरामा नभई मामाको बैठक कोठामा भएको बताएका छन्। आफूले साथीहरूसँग भेटघाटका लागि सानो भोज गर्ने सल्लाह गरेको भन्दै उनले उक्त भोज नै ‘अन्तिम भोज’ हुने अवस्था आएको व्यंग्य गरेका छन्।

उनले आफूले भोजका लागि ३ किलो बंगुरको मासु, २ किलो कुखुराको मासु, साग, धनियाँ, मुला र काँक्रा मात्र किनेको दाबी गरेका छन्। उनका अनुसार चित्र र लुकेश नामका साथीले खाना पकाएका थिए भने ह्विस्की, वाइन, कोदोको रक्सी र बियर भने अन्य साथीहरूले ल्याएका थिए।

‘जीन्दगीमा पहिलो पटक केही साथीहरूसँग भेटघाट गरौं भनेर डेरामा सानो भोज खाने सल्लाह गरेको थिएँ । यही भोज नै अन्तिम भोज पनि हुने भयो यार,’ पुनले फेसबुकमा लेखेका छन्।

भोजको भिडियो सार्वजनिक भएपछि आफूलाई लिएर विभिन्न प्रश्न उठाइएको भन्दै पुनले सञ्चारकर्मीप्रति समेत व्यंग्य गरेका छन्। ‘गण्यमान्य पत्रकार साथीहरूले त मैले देश नै खतम पारे जस्तो गरेर खुट्टी खन्न थाले’ भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

उनले भोज आफ्नो डेरामा नभएको र खर्चका विषयमा पनि आफूले उल्लेख गरेबाहेक अन्य खर्च नगरेको दाबी गरेका छन्। स्टाटसको अन्त्यमा उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘माफ पाऊँ पत्रकार सरकारहरू ! ठूलो गल्ती भएछ।’

पुनको उक्त स्टाटससँगै उनले भोज भएको स्थानका तस्बिर तथा भोजका क्रममा खिचिएको भिडियोसमेत सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा भने मन्त्री पुनको मदिरासहितको भोजमा सहभागितालाई लिएर पक्ष–विपक्षमा बहस भइरहेको छ।

भाइरल भिडियोमा देखिएको दृश्य र पुनको स्पष्टीकरणपछि अब उनको उक्त गतिविधि सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणसँग जोडेर पनि सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ।

प्रकाशित मिति : November 12, 2026 at 4:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/