२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति

– नारायण ढुङ्गाना

१४ वैशाख, काठमाडौँ । नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई सम्मिलित टोलीले उक्त सर्पको पहिचान गरेको हो । विश्वमा जम्मा १० प्रजातिका लहरे सर्प पाइन्छन् ।

उक्त सर्प शुरुमा रेञ्जर रावतले फेला पार्नुभएको थियो । पछि उक्त टोलीले सर्पको नयाँ प्रजाति पुष्टि गरेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख लक्ष्मणप्रसाद पौडेलले दुई वर्षदेखि सरिसृप र उभयचरको अध्ययनका क्रममा यसरी नयाँ प्रजातिको सर्प फेला परेको जानकारी दिनुभयो । उक्त प्रजाति नेपालबाहेक भारतमा मात्र फेला परेको छ । उहाँका अनुसार शुल्लाफाँटाका लागि योसहित ११ सर्प, चार भ्यागुता, एक कछुवा, एक छेपारो र एक भालेमुङ्ग्रो नयाँ फेला परेको छ ।

यो प्रजाति सन् २०१९ मा विश्वमै पहिलो पटक भारतको उडिसा र राजस्थानमा फेला परेको थियो । दोस्रो पटक भारतकै गुजरात भेटिएको थियो । लहरे सर्प लौकाको सुकेको डाँठ जस्तो देखिने र भारतको उडिसामा लौकालाई स्थानीय भाषामा लौडङ्का भन्ने गरेकाले सर्पको वैज्ञानिक नाम अहेतुल्ला लौडाँकिया भनेर नामकरण गरिएको छ ।

नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेला परेको यो प्रजाति पुनः बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि भेटिएको थियो । पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको पटना ताल र लामीताल क्षेत्रमा समेत फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । दिउँसोमा सक्रिय हुने, रुख लहरा तथा अग्ला खर घारीमा बस्ने र सुकेको लहराको डाँठ जस्तो शरीरको रङ खैरो हुने भएकाले यो सर्प सजिलै ठम्याउन गाह्रो हुने भट्टराईको भनाइ छ ।

लहरे सर्प अहिलेसम्म तराईका तीन राष्ट्रिय निकुञ्जमा पाँच वटा मात्र भेटिएको छन् । स्थानीयवासीले यसलाई सुगा सर्प वा उडुवा सर्प आदि नामले चिन्छन् । सर्पमा मध्यम खालको विष भए पनि टोकाइबाट मानिसको ज्यान जाने अवस्था नरहने जनाइएको छ । हरियो लहरे सर्प पाइने गरेकामा खैरो लहरे सर्प नेपालका लागि नयाँ भएको र योसहित नेपालमा दुई प्रजातिको उक्त सर्प भेटिएको सर्प विज्ञ करण शाहले जानकारी दिनुभयो । यसअघि फेला परेको सर्प हरियो र मुख चुच्चो हुने हुँदा यसलाई सुगा सर्प भन्ने गरिएको हो ।

सुक्खा वासस्थान तथा खरबारी, खोला, पोखरी किनारका काँस घारी तथा चुरे क्षेत्रको जङ्गलमा यो प्रजातिको वासस्थान हुन सक्ने जनाइएको छ । नेपालको अन्य जिल्लामा समेत पाउन सक्ने सम्भावना रहेको संरक्षणकर्मी बताउँछन् । फेला परेका पाँच सङ्ख्यामध्ये एउटा स्थानीयले मारेको नमूना फेला परेको थियो । यसको वासस्थान खरघारी भएकाले निकुञ्जको खरघारी, घाँसे मैदान आगो लगाएर व्यवस्थापन गर्ने समयमा अन्य क्षेत्रमा यसको अवस्था पत्ता लगाउन सके प्रजाति संरक्षण कार्यक्रम प्रभावकारी छ । जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि अमूल्य सम्पत्ति हुन् ।

संरक्षणको प्राथमिकतामा नपरेका सर्प प्रजातिको अध्ययन अनुसन्धान बढाउनु जरुरी रहने सर्प विज्ञको भनाइ छ । हालै भेटिएको लहरे सर्पसहित नेपालमा ८३ प्रजातिका सर्प फेला परेका छन् । जसमध्ये १७ वटा सर्पले बढी विषालु हुने हुनाले त्यसले टोकेमा मानिसको ज्यान जान सक्छ । विषालु सर्प करेत कोब्राको अगाडि दाँत हुन्छ ।

यसको पछाडि दाँत हुने भएकाले अलि कम विषालुमा पर्ने सर्प विज्ञ शाहको भनाइ छ । उहाँका अनुसार यो तराईमा पाइने सर्प हो । गर्मी मौसम शुरु भएकाले घर वरिपरि सरसफाइ गरेमा विषालु सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरुले बताएका छन् । उक्त नयाँ प्रजातिको सर्पबारे आज मात्रै अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भएको छ ।

प्रकाशित मिति : April 26, 2020 at 4:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/