५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

कोल्टी स्वास्थ्य केन्द्रमा जान तयार भए डा जैशी

१४ वैशाख , बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा राजुराज जैशी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जान तयार भएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आफू कसैको दवाव वा कारवाहीको डरले जाने नभइ सेवाका लागि जान लागेको जैशीको भनाइ छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको पत्रको अवज्ञा गरेको आरोप लागेका डा जैशी कसैको अण्डरमा नभई जनताको सेवाका लागि जान लागेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कोल्टी जान निर्देशन गरेपछि बीचमा जैशीले नजाने बताउनुभएको थियो ।

डा राजुराज जैशीलाई सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यसअघि वैशाख ६ गते २४ घण्टाभित्र जान पत्रचार गरेको थियो तर डा जैशी भने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा नगएर मार्तडीमै बसेका थिए । पछि निर्देशनालयले मौखिकरूपमा हाजिरी नगर्नसमेत भनेको थियो । आफूलाई पत्रचार गर्दा २४ घण्टाभित्र पुग्न पत्र आएपछि आफू जान अटेर गरेको उहाँको भनाइ छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा तीन महिना बसेर सेवा गर्ने वातावरण राम्रो मिल्यो भने बढी पनि बस्ने डा जैशीले रासससँग बताउनुभयो ।

कोल्टिमा गएर कोभिड–१९ रोकथाम र जनताको सेवामा लाग्ने बताउनुभयो । स्थानीय सरकार, स्वास्थ्यकर्मीसँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाइ छ । जैशी जाने भएपछि करिब एक वर्षपछि कोल्टीले चिकित्सक पाउने भएको छ । कोल्टी प्राथमिक स्वाथ्य केन्द्रमा एक मेडिकल अधिकृत, एएच एक, स्टाफ नर्स एक, अनमी तीन, अहेव तीन, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी दुई गरी १२ जनाको दरबन्दी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 26, 2020 at 1:39 pm