१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नयाँ पत्रिका र रातोपाटीले बामदेवको नाममा मनोवाद लेखेको पुष्टि (विज्ञप्तिसहित)

१४ वैशाख, काठमाडाैँ । नयाँ पत्रिका र राटोपाटीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गाैतमका नाममा मनोवाद लेखेको पुष्टि भएको छ । नेकपाका उपाध्यक्ष गौतमले केहीबेर अघि हस्तलिखित प्रेस नोट दिँदै आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको कुराको विषयमाम स्पष्ट पारेका छन । उनले प्रधानमन्त्रीसँग गरेको कुराकानीका बारेमा यस्तो प्रेस नोट जारी गरेका छन ।

प्रेस नोट

हिजो (१३ गते) प्रधानमन्त्री क.केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् ।

यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ । उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।

वामदेव गौतम, उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

१४।०१।२०७७

प्रकाशित मिति : 12:24