५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

भेरी नगरपालिकाका नगरप्रमुख घर्तीमाथि आफ्नै कार्यकर्ताद्वारा आक्रमण

१४ वैशाख, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो ।

साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उहाँको मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासङ्घ नेपाल जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

उहाँले शाही र उनका भाइहरुको समूहले नगरप्रमुख घर्तीमाथि ढुङ्गा र मुक्का प्रहार गरेर आक्रमण गरेको बताउनुभयो । नगरप्रमुख घर्ती नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश समिति सदस्यसमेत हुनुहुन्छ ।

नगरप्रमुखले योजना दिँदा शाही समूहले नपाएको र आफूमाथि अन्याय गरेको गुनासो गर्ने क्रममा विवाद भएको बताइएको छ । नेकपा कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै दोषीमाथि कारवाहीको माग गर्दै युवासङ्घ केन्द्रीय समितिले शाहीलाई निलम्बन गर्नसमेत माग गरेको छ । नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : April 26, 2020 at 8:56 am