५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

लकडाउन जारी रहेकै समयमा घर आउन पाउँदा स्थानीयवासी गदगद

– आदित्य दाहाल

१३ वैशाख, सिन्धुली । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेको छ । सरकारले गत चैत ११ गते पहिलोपटक लकडाउन जारी गरेको थियो । यसपछि विशेष गरी काठमाडौ उपत्यकाभित्र दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने मजदुर, विद्यार्थी र सर्वसाधरण वढी समस्यामा परेको जनाइएको छ । राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि उनीहरु रात दिन हजारौँ किलोमिटरको पैदलबाटै आफ्नो घर जान बाध्य भए ।

अहिले देशका विभिन्न स्थानीय सरकारले आफ्ना क्षेत्रका नागरिकलाई उपत्यकाबाट गाडीको व्यवस्था गर्दै घर फर्काउने व्यवस्था जारी राखेका छन् । सिन्धुली तीनपाटन गाउँपालिका–४ का विनोद दुलाल भन्नुहुन्छ, “लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिन काटेका हामी एक महिनापछि गाउँघर फर्किन पायौँ । फेसबुक र टिभीमा मजदुर पैदल नै घर फर्केकोे तस्वीर देखेपछि ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो । अहिले उक्त त्रासबाट मुक्त भएका छौँ ।”

राजधानीमा अलपत्र परेका मजदुर, विद्यार्थी तथा सर्वसाधरणलाई सो गाउँपालिकाले धमाधम आफ्नो गाउँघर फर्काउन थालेको छ । गाउँपालिकाले नै आर्थिक खर्च व्यहोर्ने गरी गाडीको व्यवस्थासहित नागरिकलाई गाउँ ल्याएको हो । सो गाउँपालिकाका अनुसार काठमाडौँमा अलपत्र परेका सर्वसाधारणलाई नौ वटा बस व्यवस्था गरी ६५८ जनालाई सिन्धुली ल्याइएको हो । गाउँपालिकाको वडा नं ३ झार्लङटारमा पालिका बाहिरबाट आएका नागरिकको स्वास्थ्य जाँच गरेपछि मात्रै घर पठाउने गरिएको छ । उपत्यकाबाट आएका सर्वसाधरण १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई गाउँपालिकाले अनिवार्य बनाएको छ । त्यसपछि स्वास्थ्यमा केही समस्या देखिए थप परीक्षण तथा उपचार गरिने व्यवस्था गाउँपालिकाको छ ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने गाउँपालिकामा सम्र्पक गर्नसमेत अनुरोध गर्नुभयो । ढिलै भए पनि स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुशी छन् । पिठ्युमा बच्चा बोकेकी एक महिला भन्दै हुनुहुन्थ्यो, “गाउँ आउन पाइयो यसैमा खुशी छु । अब त साग मात्रै खाएर भए पनि बाचिँने आत्मबल जागेको छ । बिनाखर्चमा सजिलोसँग आउन पाइयो यसमा झन् खुशी छु ।”

नागरिकहरुमा मनोवैज्ञानिक त्रास बढ्दै जाँदा आफ्ना नागरिकलाई सहज व्यवस्थापन गर्न केन्द्र सरकारबाट उपायसहितको निर्देशन आउने अपेक्षा थियो । अध्यक्ष कर्ण थापा भन्नुहुन्छ, “त्यो नपाएपछि उपत्यकामा राजनीतिक र सामाजिक क्षेत्रमा रहनुभएका साथीहरूसँग समन्वय गरेर आफ्ना नागरिक ल्याएका हौँ । जनतालाई समस्या परेको महसुस गरेपछि हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडीधनी र चालकसँग समन्वय गरेर काठमाडौँ पठाएका थियौँ । त्यहीअनुसार यहाँका नागरिक आफ्नो घर फर्किएका हुन् । ”
अध्यक्ष थापा भन्नुहुन्छ, “आफ्नो गाउँपालिकाको जनताको करबाट सञ्चालन भएको सरकारले अप्ठ्यारो परेको समयमा आफ्ना नागरिकलाई निःशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामी पनि खुशी भएका छौँ । सम्पूर्ण तीनपाटनवासी आफैँले तिरेको करको पैसाले घर आए, त्यसैले यो खर्च गाडीलाई गाउँपालिकाले दिन्छ । यस कार्यमा जनप्रतिनिधिको भूमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो ।”

एक सय ५० भन्दा बढी गाउँपालिकाको सम्पर्कमा आएका पोखरामा रहेका नागरिकलाई लिन तीनपाटन गाउँपालिकाले आज तीन बस पोखरा पठाएको छ । तीनपाटन वडा नं का वडाध्यक्ष लालबहादुर स्याङतानले काठमाडौँमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनीहरु बसिरहेको घरमै राहतस्वरुप खाद्यान्न पठाएको बताउनुभयो । हालसम्म ५७ परिवारलाई खाद्यान्न उपलब्ध गराएकाको जानकारीसमेत उहाँले दिनुभयो ।

काठमाडौँ लगायत अन्य क्षेत्रमा पेशा, तथा व्यवसाय गर्न पुगेका नागरिकलाई ल्याउने तयारीका विषयमा गाउँपालिकाले छलफल गरिरहेको छ ।

प्रकाशित मिति : April 25, 2020 at 2:53 pm