५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

हत्या आरोपमा तनहुँका कांग्रेस नेता प्रकाश मल्ल पक्राउ, जाहेरीमा नाम नराख्न प्रहरीको दबाब

१३ वैशाख, तनहुँ । तनहुँमा हत्या अभियोगमा कांग्रेस नेतासहित १६ जना पक्राउ परेका छन । तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा मृत भेटिएका भानु-१ भन्सार निवासी १९ वर्षीय पविन गुरुङको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले कांग्रेस नेता समेत रहेका वडा अध्यक्षसहित १६ जना पक्राउ गरेको हो ।

प्रहरीले कांग्रेस नेता भानु-५ का वडा अध्यक्ष प्रकाश मल्ल(टाइसन) सहितलाइ पक्राउ गरेको भए पनि मृतकको परिवारलाइ किटानी जाहेरीमा कांग्रेस नेताको नाम नराख्न दबाब दिएको छ । हत्यामा संलग्न भएको भन्दै पीडित पक्षले वडा अध्यक्ष मल्ल सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि प्रहरीले किटानी जाहेरी लिन नमानेको मृतकका बुबा बुद्धिराज गुरुङले जानकारी दिए । प्रकाश मल्ल नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले भने हत्यामा संलग्न रहेको आशंकमा १६ जनालाइ हिरासतमा राखेर अनुसन्धान सुरू गरेको जानकारी दिए । उनका अनुसार हत्याका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको भएपनि हालसम्म शव परीक्षण हुन सकेको छैन । मृतक गुरुङ कक्षा ११ मा अध्ययनरत थिए ।

प्रकाशित मिति : April 25, 2020 at 2:01 pm