४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

चितवनमा प्रेस युनियनले राहतका नाममा चन्दा उठाएपछि पत्रकार महासंघ बोल्यो (विज्ञप्तिसहित)

१२ वैशाख, चितवन । प्रेस युनियनले राहतको नाममा चन्दा उठाउन थालेपछि नेपाल पत्रकार महासंघ चितवनले विज्ञप्ति नै निकालेर त्यसो नगर्न अनुरोध गरेको छ । यसअघि बिहीबार दैनिकीमा ‘चितवनमा पत्रकार राहतकाेषका नाममा प्रेस युनियनकाे गैरकानुनी असुली धन्दा’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

पत्रकार महासंघका अध्यक्ष राधेश्यम खतिवडाले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन  ‘जिल्लाका सञ्चारकर्मीहरुको तत्कालीन समस्या समाधान गर्न महासंघ आफैँ सक्षम रहेकोले कोही कसैले यो संकटको समयका लागि राहत स्वरुप आर्थिक संकलन र अन्य जिन्सी समाग्री संकलन गर्नु नपर्ने जानकारी गराउदछौँ । त्यसैले संचारकर्मीका नाममा कुनैपनि प्रकारका सहयोग नउठाउन अनुरोध गर्दछौं ।’

पुरै विज्ञप्ति तल पढ्न सक्नुहुन्छ

नेपाल पत्रकार महासंघ,चितवन
प्रेस विज्ञप्ती
मितिः२०७७ बैशाख १२

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाल पनि उच्च जोखिममा रहेको छ । कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटको अवस्थाले श्रमजिवी पत्रकारहरुलाई पनि प्रभावित पारिरहेको छ ।
कोरोना भाईरसले प्रभावित पारिरहेको समयमा उच्च जोखिमको विचमा पनि आमनागरिकलाई सुसुचित गराउन अग्रभागमा रहेर काम गर्ने जिल्लाका संचारकर्मीहरुको रयापीड टेष्ट सहितको परिक्षणको व्यवस्था मिलाउन माग गर्दछौँ ।

यो संकटपुर्ण अवस्थामा मिडिया व्यवस्थापकले उपलव्ध गराउनुपर्ने २०७६ चैत मासन्त सम्मको पारिश्रमिक समयमै उपलव्ध गराइदिन आग्रह गर्दछौं । यो समयमा कुनैपनि श्रमजिवी पत्रकारलाई वेतलवी बिदा वा अन्य कुनै वहानामा बिदा गर्ने काम नगर्न नगराउन अनुरोध गर्दछौ ।

संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै संचारकर्मी र संचार प्रतिष्ठानहरुको समस्या समाधानका लागि राहत सुविधा उपलव्ध गराउन स्थानीय सरकारसंग माग गर्दछौं । स्वरोजगार मिडियाले राज्यबाट पाउनुपर्ने रकम तत्काल उपलव्ध गराउने वातावरण सृजना गर्न सरकारसंग माग गर्दछौं ।

कोरोना संक्रमणको उच्चजोखिम मोलेर जनतालाई सूचना दिने दायित्व पुरा गरीरहेका आम संचारकर्मीहरुलाई आफ्नो सुरक्षा प्रति संवेदनशिल भएर समाचार सम्प्रेषण गर्न आव्हान गर्दछौं । मिडिया प्रतिष्ठानले संचारकर्मीलाई कार्यक्षेत्रमा कर्मका लागि खटाउँदा सुरक्षाका अधिकतम मापदण्ड पुरा गरेर मात्र खटाउन पुनः आग्रह गर्दछौँ ।

लकडाउनको समय अवधी लामो भएकोले परिस्थितीजन्य समस्या ( खाद्यान्न, स्वास्थ्य उपचार अादि ) को समस्या समाधान महासघले गरिरहेको छ । थप समस्या आइपरेमा नेपाल पत्रकार महासंघले त्यसको समाधान गर्न सहयोग र समन्वय गर्ने भएकोले तत्काल जानकारी गराउनुहुन जिल्लामा रहनुभएका पत्रकार साथीहरूलाई अनुरोध गर्दछौं ।

जिल्लाका सञ्चारकर्मीहरुको तत्कालीन समस्या समाधान गर्न महासंघ आफैँ सक्षम रहेकोले कोही कसैले यो संकटको समयका लागि राहत स्वरुप आर्थिक संकलन र अन्य जिन्सी समाग्री संकलन गर्नु नपर्ने जानकारी गराउदछौँ । त्यसैले संचारकर्मीका नाममा कुनैपनि प्रकारका सहयोग नउठाउन अनुरोध गर्दछौं ।

राधेश्याम खतिवडा
(अध्यक्ष)
नेपाल पत्रकार महासघ,चितवन ।

प्रकाशित मिति : April 24, 2020 at 8:28 am