नेपाल–भारत सीमा सुरक्षाका लागि स्वयंसेवक परिचालन
९ वैशाख, भैरहवा । रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्र मर्चवारमा सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी भारतसँग सीमा जोडिएको यस क्षेत्रमा आवतजावत बढेपछि स्वयंसेवक परिचालन गरिएको स्थानीय पालिकाले बताएका छन् । बन्दाबन्दीका समयमा सीमामा तस्करी बढेको र भारतीय नेपालतर्फ आउने क्रम नरोकिएपछि स्थानीय युवालाई स्वयंसेवकका रुपमा सीमा सुरक्षामा खटाइएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।

‘गाउँपालिकाले विशेष तालीम दिएर स्वयंसेवकलाई सीमाक्षेत्रको सुरक्षामा खटाएको छ’, यादवले भन्नुभयो,“भारतसँगको खुला सीमा रहेका कदमहवाँ, बोगडी, बरहदवा, परसिया, त्रिलोकपुर आदि स्थानमा स्वयंसेवकले निगरानी गर्न थालेका छन् ।”गाउँपालिकाले पहिलो चरणमा २० युवा स्वयंसेवकलाई परिचालन गरेको र आवश्यकतानुसार बन्दाबन्दीको पूर्ण पालना गराउन थप स्वयंसेवक खटाउने कोटहीमाईका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताउनुभयो । सीमाक्षेत्रमा परिचालित युवाले सुरक्षाकर्मीसँगको सहकार्यमा काम गर्ने छन् ।
सम्मरीमाई गाउँपालिकाले पनि २४ युवालाई तालीम दिएर सीमा सुरक्षाका लागि खटाएको गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो । उहाँले भारतसँग सीमा जोडिएका करौता, पकडीहवा, वसडिहवा, मुडिला, तरेनी, पिपरहवा आदि स्थानमा पनि स्वयंसेवक खटिएको बताउनुभयो ।
प्रकाशित मिति : April 21, 2020 at 4:35 pm





