१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेकपा अझै एक ढिक्का भएर अघि बढ्ने, यस्ता छन सचिवालय बैठकका निर्णय

८ वैशाख, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अझै एक ढिक्का भएर अघि बढ्ने भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीलाइ अझै एक ढिक्का र एकतावद्ध गराएर अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए  ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशका विषयमा जानकारी गराएका थिए ।  अन्य नेताहरूले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भयो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभयो । तत्पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आआफ्नो धारणा राख्नुभयो ।

छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
८ बैशाख २०७७

प्रकाशित मिति : 21:05