अनुमति विना एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, निर्देशन अवज्ञा गरे कारबाही
४ वैशाख, काठमाडाैँ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि अनुमति विना एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने भएको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाउने निर्णय गरेको हो । यसअघि नै मन्त्रिपरिषदले निर्णय गरे पनि कार्यान्वयनमा गृह मन्त्रालयले तदारूकता देखाएको थिएन ।

कोरोना संक्रमण बढेसँगै गृहले एक जिल्लाबाट अर्को जिल्लामा जानै नदिने निर्णय गरेको हो । गृह मन्त्रालयले बिहीबार ७७ जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत बन्द गराउन परिपत्र गरेको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकाहरू अब बिच बाटोमै रोकिने भएका छन । गृहले निर्देशन अवज्ञा गरेर हिँड्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति : April 16, 2020 at 7:41 pm





