२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कोरोना रोकथाम र नियन्त्रणमा खटिने चिकित्सक, सुरक्षाकर्मी र पत्रकारकालाई १५ लाखको बीमा

३० चैत, डोटी । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि जनही रु १५ लाखको बीमा गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

फाइल फाेटाे

त्यस्तै बैठकले अतिविपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि रु १६ करोड राहत वितरण स्थानीय तहमार्फत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत वितरण गर्दा प्रतिपरिवार मासिक रु तीन हजारका दरले राहत सहयोग गरिने छ ।

त्यसैगरी प्रदेशभरिका नौ वटै अस्पतालमा रहेका अस्पताल विकास समिति मातहतका स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० भेन्टिलेटर खरिद गरी हस्तान्तरण गर्ने, जिल्ला प्रशासन कार्यालयलाई रु पाँच लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी कार्यालयलाई रु १५ लाखका दरले व्यवस्थापन रकम उपलब्ध गराउने निर्णयसमेत गरेको स्वकीय सचिव ओलीले जानकारी दिनुभयो । प्रदेशमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्नुका साथै कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित गरिएको छ ।

प्रकाशित मिति : April 12, 2020 at 10:53 am