अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन प्रधानमन्त्री ओलीको अपिल
२९ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन आम नागरिकमा अपिल गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्सबाट बैठक गर्दै प्रधानमन्त्री ओलीले सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभएको हो ।

उहाँले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फ्ड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने र भावुक कुरा गरेर लापरबाही गर्ने कार्य स्वीकार्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘कोरोनाको संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्दै भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन, यसमा नरम बनेर लापरबाही नगर्न अनुरोध गर्दछु ।’
प्रधानमन्त्रीले जनतालाई दुस्ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आवश्यक सचेतनताको लागि मुख्यमन्त्रीहरूमा आह्वान गर्नुभयो । उहाँले साथसाथै, सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गर्नुभयो ।
प्रकाशित मिति : 17:23









