२५ जेष्ठ २०८३, सोमबार | Tue Jun 9 2026

परिश्रमी पराजुलीः एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

—सन्तोष शर्मा

२ जेठ, झापा । पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ ।

कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहनुभएको छ ।

उहाँले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पाल्नुभएको छ । हाल उहाँको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।

२०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको पराजुलीले चार वर्षमा आफ्नो फर्ममा रु एक करोड २० लाख ९० हजार लगानी गरिसक्नुभएको छ । पराजुली व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय किसानसमेत बन्नुभएको छ भने मनग्ये आम्दानी गर्न सफल पनि हुनुभएको छ ।

“अहिले देशभरबाट बाख्राको माग भइरहेको छ”, परिश्रमी पराजुलीले भन्नुभयो, “सुर्खेत, पर्वत, भक्तपुर, स्याङ्जासहित पूर्वका विभिन्न जिल्लाका किसान बाख्रा खरिद गर्न आउनुहुन्छ ।” उहाँले सुर्खेतका एक किसानलाई २२ महिनाको १३२ केजी बोयर बाख्रा रु चारलाख ६५ हजारमा बिक्री गरेको सुनाउनुभयो । स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर मेहनत गरे असम्भव केही नभएको उहाँ सुनाउनु हुन्छ ।

उहाँले बाणिज्य बैंकबाट रु ५९ लाख ऋण लिएको बताउँदै भन्नुभयो, “पारिवारिक रुपमा पनि सरसहयोग लिएको छु÷पाइरहेको छु ।” “मासुका लागि बोयर जातको बाख्रा राम्रो मानिन्छ, उत्पादनका दृष्टिले पनि राम्रो छ” उहाँले बाख्राको गुण बयान गर्दै भन्नुभयो, “बोयरको मासु रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको माग बढ्दै गएको छ ।”

बोयर जातको बाख्राले दुई वर्षमा तीन पटक पाठापाठी ब्याउने गरेको छ । “हरेक पटक जुम्ल्याहा पाठापाठी दिन्छ” उहाँले भन्नुभयो ।

उहाँले पशु आहारका लागि व्यक्तिगत एक बिगाह र भाडामा तीन बिगाह जग्गा लिनुभएको छ भने असारमा रु ३८ लाखको बाख्रा थप्ने तयारी रहेको बताउनुभयो । फर्ममा दुईजनाले रोजगारीसमेत पाएका छन् ।

प्रकाशित मिति : May 16, 2018 at 11:38 am