२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

सर्वदलीय विपत् कोषबाट भरतपुर अस्पताललाई ५० सेट पिपिई

१७ चैत, चितवन । सर्वदलीय विपत् राहत कोष चितवनले भरतपुर अस्पताललाई आज ५० सेट पिपिई उपलब्ध गराएको छ । राहत कोषको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, तत्कालीन राप्रपाबाट कोषमा प्र्रतिनिधित्व गर्ने बद्री तिमिल्सिनाले सो सामग्री नेपाल चिकित्सक सङ्घमार्फत भरतपुर अस्पताललाई प्रदान गर्नुभएको हो ।

राहत कोषका तर्फबाट उपलब्ध पिपिई ग्रहण गर्दै भरतपुर अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले विपत्को समयमा चिकित्सकलाई आवश्यक सुरक्षाका सामग्रीको सहयोग गरेकामा कोषप्रति धन्यवाद प्रकट गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबैको सहयोगले जोखिमसँग लड्न सहज हुने बताउनुभयो ।

कोषको तर्फबाट नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भरतपुर अस्पतालमा कोरोनाका बिरामी धेरै आउने र चिकित्सक, स्वास्थ्यकर्मी उपचारमा डराउने गरेको भन्दै मनोवल उच्च बनाउनका लागि पिपिई सहयोग गरिएको बताउनुभयो । कोषमा रहेको रु दुई लाख रुपैयाँबाट ती सामग्री खरिद गरेर हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाका राजनीतिक दलसँगै विभिन्न सङ्घसंस्थाको पहलमा यसअघि विपत्का समयमा सङ्कलन गरी वितरण गरेर बाँकी रहेको रकम सहयोग गरिएको हो ।

प्रकाशित मिति : March 30, 2020 at 2:12 pm