जानी राखाैँः के-के हुन्छ लकडाउनमा ?
१० चैत, काठमाडाैँ । सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश सरकारले जारी गरेको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।
के हाे लकडाउन ?
सामान्य भाषामा भन्दा जनातामाथि सरकारको कठोर निगरानी र सुरक्षा नै लकडाउन हो। जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्न सरकारले यस्तो नियम लागु गर्ने गर्छ। चिकित्सकहरुले लकडाउनलाई (हेल्थ कस्टडी) भन्ने गर्छन्। मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हुने गर्छ।
गत डिसेम्बरबाट चीनको उवानमा यो भाइरस फैलिँदा चीन सरकारले यसलाई नियन्त्रण गर्न जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए। उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने सार्वजनिकस्थलहरु पूर्ण बन्द गरिएको थियो। लकडाउन गरिएको क्षेत्रमा विद्यालय, होटल तथा रेष्टुरेण्ट, बैंक यातायात बन्द गर्नुपर्छ भने मानिसहरु घरबाट आवत जावत गर्न पाउँदैनन्।
लकडाउनबारे जान्नै पर्ने १० कुरा
१. औषधी उपचार र खाद्यवस्तु खरीद जस्ता अत्यावश्यक काममा बाहक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने,
२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाउने,
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडानहरु बन्द गर्ने,
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने,
५. औषधि तथा स्वास्थ्य उपकरण, खानेपानी, इन्धन उत्पादन गर्ने उद्योगहरू बाहेक निजी अन्य उद्योग कलकारखानाहरूमा काम गर्न श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने,
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने,
७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने,
८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सोहि ऐन बमोजिम सजाय हुने।
निर्णयहरु:
१. संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीज्यको संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (कोभिड १९) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड- २०७६ स्वीकृत गर्ने,
२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतत्वमा आजै देखि बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरूको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु परिचालन गरी शुरु गर्ने । यसका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले आवश्यक पहल गर्ने।
प्रकाशित मिति : March 23, 2020 at 9:01 pm









