११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सभामुख सापकोटाले एक महिनाको तलब कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने

१० चैत, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुभएको छ । विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उहाँले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने व्यवस्था गर्नुभएको हो ।संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ ।

सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न पूर्वतयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो । यसैबीच, सभामुख सापकोटाले संघीय संसद् सचिवालयमा तयार गरिएको ‘आइसोलेसन’ वार्डको आज अनुुगमन गर्नुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसनको अनुुगमन गर्दै उहाँले सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुुभयो ।

कोरोना भाइरस सङ्क्रमित भेटिए अस्पताल पुर्याउनुअघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद् सचिवालयअन्तर्गतको स्वास्थ्य एकाइका चिकित्सक पुस्पराज रिजालले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : March 23, 2020 at 5:32 pm