१० असार २०८३, बुधबार | Thu Jun 25 2026

कोभिड-१९ को प्रभावः लामिछानेले तीन महिना, राई र गुरूङले एक/एक महिनाको घरभाडा नलिने

८ चैत, काठमाडाैँ । काठमाडौँको कलंकी घर भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे । उनको स्टाटस केही समयमा नै भाइरल बन्यो। उनले भने आफूले कुनै पनि किसिमको प्रचारबाजीको लागि नभई दुखको समयमा मानवीय सेवाको भावले यस्तो घोषणा गरेको बताएका छन् ।

‘मैले आफ्नो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने बित्तिकै साथीहरुले सेयर गरेर भाइरल बनाइदिनुभयो’ उनले भने, ‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, त्यसैले मैले मेरो घरमा भाडामा बसिरहनुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ।’

यस्तै कोरोना भाइरसको महामारी फैलिएर आर्थिक मन्दी बढेपछि समाजसेवी सुष्मा राईले आफ्नो घरमा भाडामा रही ब्यवसाय गर्दै आएका सवैलाई एक महिनाको भाडा छुट दिने घोषणा गरेकी छिन । गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसि सदस्य राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताइन ।

‘एक महिनाको भाडा नलिने जानकारी घाडामा बस्ने सवैलाई गराएको छु, सवै मिलेर कोरोनाबिरुद्ध लडनका लागि मैले यस्तो निर्णय लिएको हुँ,’ राईले भनिन । उनले ग्वार्काेस्थित आफ्नो घरमा बसेकाहरुलाई एक महिनाको भाडा छुट दिने बताएकी हुन ।

यस्तै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गरेकी छिन । पोखरा महानगरपालिका वडा नम्वर ६ जरेबरमा रहेको आफनो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन । उपप्रमुख गुरुङको घोषणा पोखरामा घर भाडामा दिने घरबेटीहरुलाई समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

पोखराका ब्यवसायीले ब्यवसाय धरासायी बन्दै गएको भन्दै छुट घर भाडामा छुट दिन माग गरिरहेका बेला उपपप्रमुख गुरुङले भाडा नलिने घोषणा गरेकी हुन । विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तब्यस्त भएको भन्दै उनले ब्यवसायीलाई राहत स्वरुप भाडा नलिने निर्णय गरेको उपप्रमुख गुरुङले बताइन ।

प्रकाशित मिति : March 21, 2020 at 7:04 pm