१० असार २०८३, बुधबार | Thu Jun 25 2026

काभ्रेकाे तीन गाउँपालिकामा स्वास्थ्य परीक्षणपछि मात्रै प्रवेश

८ चैत, बनेपा । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न काभ्रेपलाञ्चोकको चौरीदेउराली, तेमाल र रोशी गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोलीले आआफ्ना स्थानीय तह प्रवेश गर्ने मुख्य नाकामा स्वास्थ्य परीक्षण गरेर मात्रै शहरबाट गाउँ फर्केकालाई गाउँ प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।

जिल्लाको विकट कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाले भुम्लु गाउँपालिकासँगको समन्वयमा दोलालघाटमा स्वास्थ्यकर्मीसहितको टोलीले शहरबाट गाउँ प्रवेश गर्नेको आवश्यक स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँ प्रवेश गर्न लगाउने पूर्वतयारीको काम थालनी गरेको जनाएको छ ।

फाइल फाेटाे

त्यस्तै सो पालिकाले आफ्नो पालिका प्रवेश गर्ने मुख्य नाका तेमालवेशीको खहारेघाट र गाउँपालिका केन्द्र ढाँडखर्कमा हेल्थ डेस्क स्थापना गर्ने काम भइरहेको वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले बताए। त्यससँगै पालिकाभित्र रहेको धुलिखेल अस्पतालको शाखा माझीफेदा, कातिकेदेउरालीका साथै वडा नं २ नार्गेगगर्चेमा रहेको बाल तथा महिला विकास केन्द्र (डिसिडब्लुसी) अस्पताल र ढाँडखर्कमा रहेको धुसेनी शिवालय प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीलाई पनि उच्च सतर्कताका साथ रहन निर्देशन दिइएको छ । सबै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा रहन पालिकाले निर्देशन दिएको उनले बताए।

पालिकाका सबै स्वास्थ्यचौकीको सक्रियतामा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा धुसेनी शिवालय प्राथमिक अस्पतालका डाक्टर आसुन केसी नेतृत्वले स्थानीय बासिन्दालाई जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको गौतमले बताए। साथै पालिकाले सबै स्वास्थ्यकर्मीलाई बिदा नदिने र बिदामा बसेकालाई समेत तत्काल सेवा क्षेत्रमा फर्काउने निर्णय गरेको उनले बताए ।

त्यस्तै उता तेमाल गाउँपालिकाले पनि पालिका प्रवेश गर्ने मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरू गरिसकेको छ । शहरबाट गाउँ फर्केका बस तथा मोटरसाइकललगायतका साना सवारीसाधनमा आउनेले समेत अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँपालिका प्रवेश गर्ने गरी शुक्रबारबाट स्वास्थ्य परीक्षणको व्यवस्था शुरू गरिसकेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बताए।

‘शुक्रबार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सिमानामा पर्ने तेमालको का्लीमाटी डाँडामा स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले उद्घाटन गर्नुभई स्वास्थ्य परीक्षण शुरू गरिसकेका छौँ’, अध्यक्ष तामाङले भने, ‘पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकाको सिमाना बोहरे दोभानमा हेल्थ डेस्क निर्माण गरिरहेकाले आजबाट परीक्षण शुरू हुनेछ ।’ गाउँपालिका स्वास्थ्य शाखा संयोजक शिवहरि पाठकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको तामाङले बताए।

रोशी गाउँपालिका प्रवेश गर्ने नाका शिखरआम्बोटे, कटुञ्जे र मङ्गलटारमा हेल्थ डेस्क स्थापना गर्ने शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले शहरबाट गाउँ फर्केकाको स्वास्थ्य परीक्षण शुरू गर्ने निर्णय गरेको बताए।

जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा भने स्वास्थ्यकर्मीको अपर्याप्तता र जाँच गर्ने प्रविधिको उपलब्धता नभएको कारण हेल्थ डेस्क स्थापना नभएको जनाएको छ । स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जिल्लाका सबै अस्पतालका साथै मेथिनकोट अस्पताललाई उच्च सतर्कतामा राखेर आवश्यक तयारीको काम भइरहेको बताए। उहाँका अनुसार जिल्लाको पाँचखाल र बनेपा नगरपालिकाले पनि शुक्रबार हेल्थ डेस्क स्थापना गरिएको छ ।

त्यससँगै स्थानीय तहले आफ्नो स्थानमा क्वारेन्टाइनको लागि विद्यालय भवनलगायतका अन्य भवनलाई खाली गरेर कम्मलगायत अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्न बिहीबार नै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्देशनसमेत जारी गरिसकेको छ । त्यसको लागि आवश्यक सामग्री, ड्रेस, मास्क र अन्य आवश्यक सामानको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढिरहेको समेत उनले बताए । जिल्लामा कोरोना भाइरसको जोखिमबाट हुनसक्ने जोखिमबाट मुक्त हुन उच्च सतर्कताका लागि नेपाली सेनाको टोलीले क्वारेन्टाइनको लागि आवश्यक ठाउँको व्यवस्थापनमा लागिरहेको र जिल्लाका अस्पतालले आइसोलेसनको व्यवस्था गर्ने काम तीव्ररुपमा भइरहेको डाक्टर झाले बताए। पेमा लामा,रासस

प्रकाशित मिति : March 21, 2020 at 10:47 am