नेपाललाई तत्काल चाहिने मेडिकल सामग्रीको सूची चीन पुग्यो, यस्ता छन माग भएका सामग्री
नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ । चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लिन लागेको परराष्ट्र मन्त्रालयले जनाएको गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन ।

“स्वास्थ्य मन्त्रालयले नभई नहुने मेडिकल सामग्री चिजहरु छन् , तिनीहरुको लिस्ट परराष्ट मन्त्रालयलाई पठाएको छ , त्यही लिस्ट चीनलाई सञ्चार गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो । स्वास्थ्य मन्त्रालयले पठाएको लिस्ट अनुसार मास्कदेखि भाइरस पत्ता लगाउने मेसिन सम्मका सामग्री रहेका छन् ।

झण्डै डेढ महिना पहिले नेपालले चीनलाई एक लाख मास्क सहयोग गरेर छिमेकीको सौहार्दता प्रकट गरेको थियो । सोही अनुसार चीनले पनि आवश्यक परेको सहयोग गर्ने बचन अनुसार यसपटक सरकारको उच्चस्तरमा सोधेपछि चीनसँग सहयोग लिन थालिएको मन्त्रालयले जनाएको छ ।
करिब ४० हजार मास्क, भाइरल डिटेक्टिभ मेसिन र सिआरटी मेसिन ४० थान, तथा भेन्टिलेटर एकसय थान, मोनिटर दुइहजार थानको हाराहारीको सूची लिस्टमा रहेको जनाइएको छ । त्यस्तै मोबाइल एम्बुलेन्स, इन्फेक्सन नसर्ने मोबाइल, अक्सिजन प्लान्ट, थर्मो स्क्यानर लगायतका सामग्री पनि सूचीमा रहेको छ । अन्य मेडिकल सामग्री पनि त्यो सूचीमा समावेश छ । चीनले आफ्नो अनुभवको आधारमा परेको खण्डमा चिकित्यकीय टोलीको सहयोग भिडियोमार्फत गर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : March 21, 2020 at 8:18 am









