निजी स्कुलको हर्कतप्रति अनेरास्ववियूको आपत्ति, सेन्ट जेभियर्स लगायतलाई कारबाहीको माग
७ चैत, काठमाडाैँ । अनेरास्ववियूले केही निजी विद्यालयहरूको हर्कतप्रति कडा आपत्ति जनाएको छ । शुक्रबार अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रूपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गर्दै सेन्ट जेभियर्स लगायतका स्कुलले सरकारको निर्देशन उल्लंघन गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘विश्वब्यापि महामारीको रुपमा आम विश्व समुदायलाई नै आक्रान्त पार्नेगरि कोराना भाइरस (कोभिड १९) सर्वत्र फैलिरहेको वर्तमान संकटपुर्ण घडीमा नेपाल सरकार र सम्पुर्ण नेपाली जनता अत्यन्तै सतर्कता, गम्भीरता र जिम्मेवारीवोधका साथ अघि वढिरहेको विदितै छ। यसै सन्दर्भमा नेपाल सरकारले दिएको निर्देशन र लिएको नीतिको अवज्ञा गर्दै कतिपय निजी तथा संस्थागत विद्यालयहरुले प्रवेश परीक्षा र विद्यार्थी भर्ना जारी राखेको परिघटनाप्रति हाम्राे संगठन अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस्तै विज्ञपतिमा अघि भनिएको छ ‘विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड र नेपाल सरकारले जारी गरेको निर्देशन लत्याउंदै आम विद्यार्थीको स्वास्थ्यलाई नै ठुलो जोखिममा पारेर गरिएका यसखालका गैरजिम्मेवारपुर्ण हर्कतप्रति हामी घोर निन्दा र आपत्ति प्रकट गर्दछौं । अनेरास्ववियू यस खालका गैरजिम्मेवार गतिविधि गर्ने सवै विद्यालयहरुलाई तत्काल कार्वाही गर्न नेपाल सरकार र अन्य सरोकारित नियमनकारी निकायहरुलाई जोडदार माग गर्दछ।’ केहीदिन अघि सेन्ट जेभियर्स स्कुलले ८ हजार भन्दा बढी विद्यार्थी भेला गरेर प्रवेश परीक्षा लिएको थियो ।

प्रकाशित मिति : March 20, 2020 at 8:59 pm









