१० असार २०८३, बुधबार | Thu Jun 25 2026

मन्त्रालयमै ‘कोरोना हेल्थ डेक्स’ स्थापना गरिने

७ चैत, काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना सहायता कक्ष ‘कोरोना हेल्थ डेक्स’ स्थापना गर्ने तयारी गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई कम गर्नका लागि तत्कालै कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको बताउनुभयो । “बालबालिका, अपाङ्गता भएका व्यक्ति, बालसुधारगृह, वृद्धाश्रममा बस्ने व्यक्तिलाई सेवा दिनका लागि कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको हो”, मन्त्री गुरुङले भन्नुभयो, “मन्त्रालयमा तुरुन्तै फोकल पर्सन तोकेर शुरु गर्ने तयारी छ, आवश्यक परेमा सम्बन्धित ठाउँमै गएर पनि सेवा दिन सकिन्छ ।”

मन्त्रालयले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लागि उच्च जोखिममा रहेका महिला, बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई ध्यानमा राखेर सचेतनामूलक कार्यक्रम महिला तथा बालबालिका विभागबाट सञ्चालन गरिरहेको छ । मन्त्रालयले पूर्वसावधानीका लागि सरोकारवाला निकायसँग मिली माक्स, स्यानिटाइजार, औषधिजस्ता आधारभूत आवश्यक वस्तुको सङ्कलन तथा वितरणको व्यवस्था मिलाउने काम विभागलाई दिएको छ ।

प्रकाशित मिति : March 20, 2020 at 9:30 pm