प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ राख्ने कांग्रेसको प्रस्ताव अस्वीकृत, पक्षमा २८ मतमात्र
४ चैत, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा भएको मतदानमा नेपाली कांग्रेसले अघि सारेको प्रदेशको नाम ‘मिथिला भोजपुरा’ पनि अस्वीकृत भएको छ। यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अघि सारेको प्रदेशको नाम ‘जानकी’ अस्वीकृत भएको थियो।
कांग्रेसले अघि सारेको मिथिला भोजपुरा प्रस्तावको पक्षमा २८ मतमात्र परेको हो। यसअघि नेकपाको प्रस्तावमा भएको मतदानको पक्षमा ३७ मत मात्र परेको थियो। एक सय ७ प्रदेशसभा सदस्यमध्ये नेकपाको पक्षमा ३७ ले मात्र मतदान गरेका हुन् भने कांग्रेसको प्रस्तावमा २८ जनाले मात्र मतदान गरेका छन्।

नेकपाको जानकी र कांग्रेसको मिथिला भोजपुरा अस्वीकृत भएपछि अब समाजवादी र नेकपाकै केही सांसदले अघि सारेको ‘मध्य मधेस’को नाममा मतदान हुँदैछ। समाजवादीले अघि सरेको प्रस्तावसमेत अस्वीकृत भएमा राजपाले अघि सारेको मधेश प्रदेश माथि मतदान हुनेछ। प्रदेश २ को प्रदेशसभामा १०७ सांसद छन्।
सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छ। नाम र राजधानी प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित मिति : March 17, 2020 at 5:21 pm









