१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रले ठोस र बलियो रणनीति बनाउनुपर्छः प्रधानमन्त्री ओली

२ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वव्यापी बनेको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न क्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रले ठोस र बलियो रणनीति बनाउनुपर्ने बताउनुभएकाे छ ।

आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको सार्क राष्ट्रका प्रमुखबीचको भिडियो संवादमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘म प्रधानमन्त्री मोदीलाई यो महत्वपूर्ण पहल समयमै गरेकोमा धन्यवाद दिन चाहन्छु, हाम्रो बुद्धिमत्तापूर्ण सामूहिक प्रयासले कोरोनाविरुद्ध लड्न ठोस र बलियो रणनीति बनाउन यस संवादले मद्दत गर्छ।’

नेपाल कोरोनाविरुद्ध लड्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले अब सार्क राष्ट्रबीच कोरोनालाई लिएर ठोस पहल लिनुपर्नेमा जोड दिनुभयाे । ‘सार्कक्षेत्रको लागि एक ठोस र बलियो रणनीति बनाउन यसले मद्दत गर्दछ’, उनले भने, ‘अब ढिलो नगरी सामूहिकरुपमा पहल थाल्नुपर्छ।’ प्रधानमन्त्री ओलीले कोरोना भित्रिन नदिन भारत तथा चीनसँग जोडिएको सीमाक्षेत्रमा कडा निगरानी गरिएको बताए। ‘हामीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको कडा निगरानी गरेका छौं’, उनले भने, ‘विश्‍वव्यापी समस्या बनेको कोरोना दक्षिण एसियाका लागि पनि चुनौती भएको छ। अब हामी सबैले एकजुट हुनुको विकल्प छैन।’

प्रकाशित मिति : March 15, 2020 at 6:32 pm