१० असार २०८३, बुधबार | Wed Jun 24 2026

काेरेनाकाे कहरः सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न सरकारकाे निर्देशन

२ चैत, काठमाडाैँ । कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

आइतबार राष्ट्रिय सभामा कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले सबै रणनीतिहरु बनाएर आवश्यक सावधानी अपनाएको बताउनुभयाे ।

मन्त्री ढकालले कोरोना भाइरसको संक्रमणविरुद्धको रणनीति निर्माण तथा कार्यान्वयनमा परिचालन हुने कर्मचारीदेखि स्वास्थ्यकर्मीहरुले भोग्नुपर्ने संभावित जोखिमतर्फ पनि सरकार सचेत रहेको जानकारी दिनुभयाे ।

वैशाख १८ गतेसम्मका लागि कूटनीतिक बाहेकका सबै प्रकारका भिसाहरु स्थगित गरिएको समेत मन्त्री ढकालले बताउनुभयाे । साथै, विदेशबाट आउने नेपालीलाई १४ दिनसम्म होम क्वारेन्टाइन राखिने र होम क्वारेन्टाइनमा रहने बिरामीहरुलाई ज्वरो नाप्ने उपकरण दिइने मन्त्री ढकालले बताउनुभयाे ।

कोरोनाको संभावित लक्षण देखिएमा होम क्वारेन्टाइनमा रहेका व्यक्तिलाई तत्काल अस्पताल ल्याउने गरी व्यवस्था मिलाइएको पनि मन्त्री ढकालले जानकारी दिनुभयाे। यस्तै, नेपाल आउने विदेशीले पनि अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने पनि बताउनुभयाे ।

प्रकाशित मिति : March 15, 2020 at 2:04 pm