१० असार २०८३, बुधबार | Wed Jun 24 2026

घरेलु मदिराले धनुषामा १२ जनाको ज्यान लियो, ५ जनाको अवस्था गम्भीर

१ चैत, धनुषा । धनुषामा घरेलु मदिराले १२ जनाको ज्यान लिएको छ । घरेलु मदिरा पिउँदा बिरामी भएका थप तीनजनाको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या १२ जना पुगेको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा एक सातामा मदिरा पिएरै त्यसैका कारण मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

स्थानीय उमेश यादवका अनुसार रक्सी खाएर गम्भीर बिरामी परेका ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको ज्यान गएको छ । तीनै जनाको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । होली पर्वको अवसरमा मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र ससुराली घरमा बस्दै आएका धनुषाकै रूपैठाका राजु महरासहित ५ जनाको बुधबार र बिहीबार मृत्यु भएको थियो।

केहीदिन अघि रमदैया गाउँकै बस्तीमा मदिरा सेवनबाट निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको छ । प्रहरीले भने बुधबार यता ज्यान गुमाउने ७ जनाको मृत्यु मात्रै पुष्टि गरेको छ। ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले अहिलेसम्म ७ जनाको मात्रै मृत्यु भएको बताएका छन । यद्यपी स्थानीयले बुधबार यतामात्र ८ जनाको ज्यान गएको बताएका छन ।

मदिरा पिएर बिरामी परेका ५ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको छ । गम्भीर बिरामी परेर उपचार गराइरहेकामा  रामइशर महरा, प्रदीप सदा, भरत सदा र भरत मण्डल सीताराम यादव रहेका छन । उनीहरूको जानकी मेडिकल शिक्षण अस्पताल र जानकी हेल्थकेयरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : March 14, 2020 at 10:02 am