१० असार २०८३, बुधबार | Wed Jun 24 2026

भक्तपुरकी सिडियाे पाण्डेको घोषणाः कालोबजारीको सूचना दिनुस पक्राउ गरेर थुनामा पठाउँछु

३० फागुन, काठमाडाैँ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुनिदिने चेतावनी दिनुभएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घले आज व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले केही दिनअघि मात्रै भक्तपुरको सूर्यविनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थुनेर कारवाही गरेको बताउनुभयो ।

प्रजिअ पाण्डेले भन्नुभयो, “कोरोनाको बहाना बनाएर सामान लुकाउने र बढी मूल्य लिने जो कोहीलाई हामी छाड्दैनाैँ, त्यस्तो भेट्ने बित्तिकै थुनेर कारवाही गर्छौं, जहाँसुकैबाट दबाब आए पनि छाड्दैनाैँ ।” अहिले कोरोनाका कारण बजारमा देखिएको अभाव, कालोबजारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उहाँले कालोबजारी गरेको र सामान लुकाएको कतै थाहा पाइए खबर गर्नसमेत सबैमा आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले व्यापारीले सङ्कटको बेलामा आफ्नो नैतिकतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिँदै बजार सन्तुलित पार्न सहयोग गर्नुपर्ने बताउनुभयो । अन्तरक्रियामा सहभागी व्यापारीले भने बजारमा सामान अभाव हुने हल्लाले उपभोक्ताले चाहिनेभन्दा बढी सामान लैजाँदा अभाव भएको बताउनुभयो । कोरोनाकै कारण चीन र भारतबाट आउनुपर्ने सामानहरु नआएर रोकिएको र उपभोक्ताले आवश्यकताभन्दा बढी सामान लगेर राख्दा बजारमा सामान अभाव भएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : March 13, 2020 at 8:48 pm