१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कृषि क्षेत्रमा लगानी बढाउँछौँः मुख्यमन्त्री भट्ट

३० फागुन, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिसँगै औद्योगिक क्षेत्रमा लगानी बढाएर यहाँका किसानलाई धनी बनाउने बताउनुभएको छ । प्रदेशभरिमै कृषि तथा औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर गरिब जनतालाई धनी बनाउने बताउनुभयो ।

क्षेत्रीय कृषि सेवा निर्देशनालय दिपायल राजपुरले आज आयोजना गरेको मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले प्रदेशमा ठूला उद्योग तथा कृषि कार्यक्रम सञ्चालन गरी नागरिकलाई प्रत्यक्षरूपमा रोजगारी दिने उद्देश्यले प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने तथा आयस्रोत बढाउने खालका योजना ल्याएको छ, उक्त कार्यक्रमले यहाँका गरिखाने वर्गलाई प्रत्यक्ष सहयोग मिल्ने छ ।”

त्यस्तै कृषिक्रान्तिलाई सफल पार्न सुदूरपश्चिममा औद्योगिक प्रवद्र्धन अत्यावश्यक रहेको बताउनुहुँदै मुख्यमन्त्री भट्टले बेरोजगारी तथा कामका लागि भारत जाने समस्या समाधान गर्न कृषि तथा औद्योगिक क्षेत्रको विकास हुनु जरुरी भएको बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा साना जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको उहाँको भनाइ थियो ।

त्यस्तै सरकारले कृषि क्षेत्रमा लगानी बढाउन थालेकाले जिल्लामा रहेका खाली जमिनको पनि किसानले सदुपयोग गरी उत्पादन बढाउनुपर्ने धारणा राख्नुभयो । डोटीमा पनि मुख्यमन्त्री कृषि तथा पशुपक्षी कार्यक्रमको शुरुआत भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत यहाँका किसानलाई कृषिकार्य तथा पशुपक्षीपालनका लागि ऋण सहयोग मिल्ने भएको छ भने किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि पनि सरकारले सहयोग गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : March 13, 2020 at 4:35 pm